प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका छन्। तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि देउवाले नै रक्षाको कार्यभार सम्हालेका छन्।
जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि पेश गरेको विनियोजन विधेयकमाथिको छलफल अन्तर्गत बिहीबार रक्षा मन्त्रीका रुपमा देउवाले जवाफ दिने कार्यक्रम थियो। तर, उनी आफ्नो विभागीय मन्त्रालयअन्तर्गत जवाफ दिने कार्यक्रममा संसदमा उपस्थित भएनन्।
देउवा बिहीबार काठमाडौं बाहिर पनि गएका थिएनन्। बरु शुक्रबार उनी गृहप्रदेश सुदूरपश्चिम जाने कार्यक्रम तय भएको छ। उनी बिहीबार संसदमा जवाफ दिने कार्यक्रम छलेर काठमाडौंमै आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा सहभागी हुन होटल र्याडिसन पुगेका छन्।
त्यहाँ उनले ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ सेमिनारलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दैछन्।
उक्त कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्षहरू रविना थापा र डा. बद्री केसी पनि सहभागी भएका छन्।
देउवा जवाफ दिन संसदमा नआएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उनको अवस्थाबारे सभामुख अग्नि सापकोटासँग प्रश्न उठाएका छन्।
तर उनले आफू काठमाडौंमै रहेर अनुपस्थित भएपछि जवाफ दिने जिम्मा गृहमन्त्री बालकृष्ण खाँणलाई सुम्पिएका छन्।
‘प्रधानमन्त्री किन उपस्थित भएनन् बिरामी भए कि विदेश गए कि? प्रधानमन्त्री बिनाजानकारी अनुपस्थित हुन मिल्दैन’, सुवालले भने, ‘संसदमा प्रधानमन्त्रीले नै आफ्नो विभागको जवाफ दिनुपर्छ। विदेश जानु भएको कार्यभार कसलाई दिएको छ, जानकारी हुनुपर्यो।’