चुनावी प्रतिबद्धता पत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न एनसिइ पर्वतले राजनैतिक दललाई बुझायो सुझावपत्र

१९ चैत्र, कुश्मा
पर्वत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) पर्वतले जिल्लाका प्रमुख तीन राजनैतिक दललाई सार्वजनिक शिक्षाको सुधारलाई प्राथमिकतामा राखी निर्वाचन घोषणा पत्र (प्रतिबद्धता पत्र) तयार गर्न अनुरोध गर्दै सुझावपत्र बुझाएको छ । हिजो र आज कुश्मामा आयोजित भिन्दाभिन्दै कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवाद केन्द्रका नेतृत्वलाई शैक्षिक विषयवस्तु समावेश गरिएको १८ बुँदे सुझावपत्र हस्तान्तरण गरिएको हो ।
सुझावपत्र ग्रहण गर्दै तीनै दलका नेताहरुले मुलुकको समृद्धि र विकासको मुख्य कडी नै शिक्षा भएकाले आफ्ना दलहरु शिक्षाको समुचित सुधार तथा ब्यवस्थापनका लागि जिम्मेवार भएर लाग्ने प्रतिबद्धता प्रकट गरे । स्थानीय तहको निर्वाचनका लागि तयार गरिने प्रतिबद्धता पत्रमा शिक्षालाई मुख्य प्राथमिकताको क्षेत्र बनाउन आफूहरु तयार रहेको र दिइएका सुझावहरुलाई सकेसम्म प्रतिबद्धता पत्रमा समावेश गरिने उनीहरुले बाचा गरेकाछन् । सुझावपत्र ग्रहण गर्दै नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले शिक्षाको विकास नभएसम्म कुनै पनि मुलुकको विकास असम्भव भएको आफूले बुझेको र नेपालको सन्दर्भमा पनि शिक्षाको पर्याप्त विकासबाट नै देशलाई अघि बढाउन सकिने भएकाले आफ्नो दल शिक्षालाई उच्च प्राथमिकतामा राख्न तयार रहेकाले एनसिई नेपालले दिएका सुझावभन्दा पनि बढी काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरे ।
नेकपा एमाले पर्वतका सचिव गोविन्द पहाडीले नेकपा एमालेले अघिल्लो निर्वाचनमा पनि शिक्षा, स्वास्थ्य, बालबालिका, महिला, दलित, अपांगता भएको क्षेत्र लगायतलाई पहिलो प्राथमिकता दिएर निर्वाचनमा होमिएको तथ्य स्मरण गर्दै यसपटकको स्थानीय चुनावका लागि तयार गरिने दलको प्रतिबद्धता पत्रमा एनसिइ नेपालले दिएका सुझावहरुलाई यथासम्भव समावेश गरिने बताए । नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष समेत रहेका शंकर गिरीले परम्परागत ढर्राको शिक्षाबाट मुलुकले निकास नपाउने भएकाले शिक्षालाई समयानुकुल सुधार गर्न आवश्यक भएको उल्लेख गर्दै आफ्नो दलले तयार गर्ने निर्वाचन प्रतिबद्धता पत्रमा शिक्षासम्बद्ध विषयहरु यथोचित रुपबाट समावेश गरिने बाचा गरे । सुझावपत्र हस्तान्तरण कार्यक्रममा एनसिइ नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, गैसस महासंघका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, एनसिइ पर्वतका सदस्यहरु एकनारायण चालिसे, फूलराज शर्मा, भिमबहादुर नेपालीसहित सम्बद्ध दलका प्रनिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन र सुझाव पत्र हस्तान्तरण एनसिइ पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गर्नुभएको थियो । दलहरुलाई बुझाइएको सुझावपत्रमा भनिएको छ, ‘शिक्षा प्रत्येक बालबालिकाको नैसर्गिक मानवअधिकार हो । प्रत्येक बालबालिकाले विनाकुनै अवरोध विद्यालय गएर गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसरको वातावरण तयार गर्नुपर्ने राज्यको दायित्व हो ।
नेपालसमेत पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ तथा बालअधिकार सम्बन्धी महासन्धि, १९८९ जस्ता मानवअधिकार सम्बन्धी दस्तावेजहरूले शिक्षालाई नागरिकको आधारभूत आवश्यकता एवम् मानवअधिकारको रुपमा स्थापित गरेको छ भने, सो अधिकारको सम्मान, परिपूर्ति र संरक्षणका लागि प्रत्येक पक्ष राष्ट्रको दायित्व हुन्छ ।’ एनसिई नेपाल पर्वतमा गैसस महासंघ जिल्ला शाखा, सीड नेपाल, निबृत्त शिक्षक समाज, सोडेक नेपाल, इन्प्रेड नेपाल, राष्ट्रिय दलित विकास संस्था, नेपाल अपाङ्ग उत्थान समाज, आरम्भ नेपाल र रेडियो कुशुम सदस्य रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार